नेपाली कांग्रेसले शुक्रबार (आज) का लागि संसदीय दलको बैठक बोलाएको छ । बदलिँदो राजनीतिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको हो ।
यस अघि विहीबार बसेको पदाधिकारी बैठकले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भन्दै बाँकी विषय आजको संसदीय दलको बैठकमा छलफल गर्ने जनाएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको विहीबार बसेको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षा अनुसार निर्णय लिने निष्कर्ष निकालेको हो ।
बैठकमा संवैधानिक, राजनीतिकलगायत विभिन्न कोणबाट छलफल भएको र समग्रमा कांग्रेसले लिने निर्णयले संविधान र लोकतन्त्र जनतालाई केन्द्रमा राख्नुपर्ने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा कांग्रेसले धैर्यतापूर्वक नहातिरिएर निर्णय लिनुपर्नेमा नेताहरुको एकमत रहेको उनले बताए ।
फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने जिज्ञाशामा उनले शुक्रबार (आज) बस्ने पार्टीको संसदीय दलको बैठकमा सांसदको राय–सुझाव लिएर निर्णय लिइने बताए।
विहीबारको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत, प्रवक्ता शर्मालगायत सहभागी थिए ।































प्रतिक्रिया