प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द 'विप्लव' दुवै नेताले एकै मञ्चबाट सम्बोधन गरी आज तीन बुँदे सहमति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
सरकार र हिंसात्मक गतिविधि गर्दै आएको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच विहीबार तीन बुँदे सहमति भएको थियो ।
सहमति अनुसार विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाइ सबै बन्दी रिहाइ गर्न सरकार सहमत भएको छ । उता विप्लव समूहले पनि हिंसा छाडी सबै राजनीतिक गतिविधि शान्तिपूर्णरुपमा गर्न सहमति जनाएको छ ।
सरकारले विप्लवसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापालाई संयोजक तोकेको थियो भने विप्लव समूहका संयोजक खड्गबहादुर विश्वकर्मा रहेका थिए । दुवै वार्ता टोलीका संयोजकले विहीबार संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।
सहमति अनुसार आज दिउसो २ बजे एउटै समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले सम्बोधन गरि सहमतिका विवरण सार्वजनिक गरिने भएको छ । मंगलबार सरकार र विप्लव समूहले वार्ता टोली गठन गरेका थिए । त्यस लगत्तै बुधबारदेखि वार्ता भएर बिहीबार सहमतिमा टुंगिएको थियो ।
सहमति अनुसार नै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिसकेको छ ।































प्रतिक्रिया