सरकारसँग तीनबुँदे सहमति भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रहरी सुरक्षासहित आज राजधानी आउँदैछन्। गाडीमा काठमाडौं आउन लागेका उनलाई प्रहरीले नारायणगढबाट सुरक्षा दिएर राजधानी ल्याउन लागेको हो।
सरकार र हिंसात्मक आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच राजधानीमा जारी वार्ता सफल भएपछि तीन वर्षदेखि भूमिगत विप्लव राजधानी आउन लागेका हुन्। सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार आज दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गरी त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम छ।
यससँगै विप्लव औपचारिक रुपमा सार्वजनिक भई शान्तिपूर्ण राजनीति सुरु गर्नेछन्। सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्।
बिहीबार राति नवलपरासीको अमरापुरीस्थित पार्टीका शुभेच्छुक बेलबहादुर सारुको घरमा बसेका विप्लव आज बिहान त्यहाँबाट राजधानीका लागि प्रस्थान गरिसकेका छन्।
विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएपछि सरकारले उक्त समूहमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ । शुक्रबारदेखि विप्लव समूहका पक्राउ परेका नेता कार्यकर्तालाई क्रमिक रुपमा रिहाइ गर्दै लगिने सरकारले जनाएको छ।





























प्रतिक्रिया