सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

सरकार र विप्लव समूहबीच सहमति भए अनुसार आज हस्ताक्षर भएको छ । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपा विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् । 

सरकारसँग तीनबुँदे सहमति भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रहरी सुरक्षासहित आजै राजधानी आएका थिए । 

मंगलबार सरकार र विप्लव दुवै समूहले आआफ्ना वार्ता टोली गठन गरेका थिए । बुधबारदेखि नै सुरु भएको वार्ता बिहीबार सहमतिमा टुंगोमा पुगेको थियो ।

सरकार र हिंसात्मक आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच राजधानीमा जारी वार्ता सफल भएपछि तीन वर्षदेखि भूमिगत विप्लव राजधानी आएका हुन् । 

सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । सहमतिपत्रमा हस्ताक्षर हुनु अघि आजै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबीच बालुवाटारमा भेटवार्ता भएको थियो । 

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएपछि  सरकारले उक्त समूहमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ । आजदेखि विप्लव समूहका पक्राउ परेका नेता कार्यकर्तालाई क्रमिक रुपमा रिहाइ गर्दै लगिने सरकारले जनाएको छ। आजै विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेबाट रिहा भइसकेका छन्। 

Logo