प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार हिउँदे अधिवेशन सुरु भएको दिन पहिलो बैठक नै प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण अवरुद्ध बनेको हो ।
संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए । संसदको सातौं अधिवेशन सुरु भएकै दिन सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सांसदहरु आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
सभामुखले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संबैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ पेश गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरु उभिएर विरोध गरेका थिए । त्यसपछि गरेपछि समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रमुख प्रतिपक्षी दलले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै फिर्ता लैजान आग्रह गरिन् ।
उनले प्रतिनिधिसभा पुनर्स्थापित भएपछि पनि पहिलो बैठकमा नै सरकारले संसदीय अभ्यासलाई सुचारु रुपले अगाडि बढाउन नदिएर व्यवधान खडा गरेको बताइन् ।
उनले भनिन् “संसद नभएका बेला प्रधानमन्त्रीलाई अध्यादेशबाट मुलुक चलाउनु पर्ने बाध्यता कहाँबाट आयो ?” उनले महिला नेतृत्व रहेको उपसभामुख पदको निर्वाचन नभएको प्रति पनि आक्रोश पोखिन् ।
उनले भनिन्, “महिला दिवसको पूर्वसन्ध्यामा भन्न पनि दुःख लागेको छ, ३ बर्ष भइसक्यो फरक दलले, महिला नेतृले उपसभामुख पदको निर्वाचान गरौं भनेर थाल्दा पनि महिला नेतृत्वमाथि चुनौति खडा भएको छ ।”
सभामुखले अध्यादेश पेश गर्ने कार्यक्रम अगाडि बढाएपछि पुन कांग्रेसका सांसदहरु उभिएपछि सभामुखले प्रमुख सचेतक बालकृष्ण खाँडलाई बोल्न समय दिए। प्रमुख सचेतक खाँडले संविधान विपरित आएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश अबिलम्ब फिर्ता गर्नुपर्ने माग गरे ।
विरोधका बीच मन्त्रीले अध्यादेश पेश गरेपछि नेपाली कांग्रेसका सांसदहरु नाराबाजी गर्दे वेल घेर्न आईपुगेका थिए । सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए ।































प्रतिक्रिया