केन्द्रबिन्दु बुलेटिन : ओली प्रवृत्तिमाथि निकै जोखिम मोलेर प्रहार गरेको प्रचण्डको खुलासा (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ओली प्रवृत्तिमाथि निकै जोखिम मोलेर प्रहार गरेको प्रचण्डको खुलासा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्न परे पनि तयार भएर केपी प्रवृत्तिमाथि प्रहार गरेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरुसँग एकीकृत हुँदा आफ्नो साथीहरु छुट्नुमा आफ्नो कमजोरी स्वीकार्दै आगामी दिनमा पुराना साथीहरुलाई एकताबद्ध गरेर अगाडि सोच रहेको बताए ।

नेपाली सेनाले बिहीबार सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरी सेना दिवस मनाएको छ । उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा सेनाको बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी गरिएको थियो ।

कोभिड–१९ महामारीको असरले यस वर्ष महाशिवरात्रिमा पशुपति आउने दर्शनार्थीको संख्या घटेको छ। विगत वर्षहरुको दाँजोमा यस वर्ष मन्दिर आउने भक्तजनहरुको संख्या आधा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसैबीच, महाशिवरात्रिको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनले पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले साँझ ५ बजेपछि मन्दिर पुगेर विशेष पूजा–अर्चना गरेका हुन् ।

विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ भने फाइनल खेल शनिबार हुनेछ ।

बिहीबार सैनिक कू विरुद्ध म्यानमारमा भएको प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूकीसहित निर्वाचित जनप्रतिनिधिको रिहाइको माग गर्दै सैन्य ‘कू’ विरुद्ध डेढ महिनादेखि म्यानमारमा प्रदर्शन भइरहेको छ। मानव अधिकारवादी संगठनका अनुसार सेनाले गोली चलाउँदा म्यानमारमा हालसम्म ६० प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा बढी मानिसलाई सुरक्षाफौजले बन्धक बनाएर राखेको छ।

Logo