हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्ष विहिन रुपमा टुंगिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाएपनि आ–आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो। विशेष गरेर माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको गरेको निर्णय फिर्ता नलिएसम्म आगामी बैठक नबस्ने अडान लिएसँगै वैठक निश्कर्ष विहिन बन्न पुगेको थियो ।
यता, आजै माधव नेपाल पक्षले बानेश्वरस्थित अर्याल होटेलमा केन्द्रीय सदस्य तथा सांसदहरूको भेला सम्पन्न गरेको छ भने, बुधबारका साँझका लागि प्रधानमन्त्री ओलीले एमालेका केन्द्रीय सदस्यलाई चियापान कार्यक्रमका लागि बालुवाटार बोलाइए पनि माधव पक्षले सो समारोह बहिस्कार गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक अनिश्चित समयसम्मका लागि स्थगित भएको छ । उक्त बैठक आइतबारदेखि जारी थियो । माओवदी केन्द्रले सर्वोच्च अदालतको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने फैसलाको छिट्टै पुनरावलोकनमा जाने पनि उल्लेख गरेको छ ।
गएराति इटालियन सिरीज ए अन्तर्गत क्याग्लीअरीविरुद्धको खेलमा युभेन्ट्सले सहज जीत निकालेको छ। जीतमा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक नै निर्णायक बन्यो। यता, ह्याट्रिक पूरा गरि रोनाल्डोले आफ्नो आधिकारिक खेलको गोल कीर्तिमान तोडेका छन् । रोनाल्डोले उक्त खेलमा ह्याट्रिक गरेसँगै आफ्नो खेल करिअरमा कुल गोल संख्या ७ सय ७० पुर्याएका छन् । यो संख्या अर्का कीर्तिमानी खोलाडी पेलेले राखेको रेकर्ड भन्दा ३ गोल बढी हो ।
म्यानमारमा पछिल्लो समय सैन्य कूविरुद्ध आन्दोलन चर्कंदै जाँदा त्यहाँको सैनिक निकै हिंसात्मक बन्न थालेको छ। यस क्रममा आइतबारमात्र त्यहाँको सैनिक फौजले प्रदर्शनकारीमाथि आक्रमण गर्दा ३८ प्रर्दशनकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो घटनालाई त्यहाँका अभियानकर्मीहरुले सबैभन्दा घातक भएको जिकिर गरेका छन् । यस विषयमा चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरुले आरोप समेत लगाइरहेको समाचार संस्थाहरूले जनाएका छन् ।
नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखिएको एक अध्ययनले देखाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव सहितको प्रतिवेदन तयार पारेको थियो। नेपालमै कारखाना स्थापना हुँदा करिब १६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा प्रयोग गरेर रासायनिक मल आयात गर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने अध्ययनले देखाएको छ ।





























प्रतिक्रिया