नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले कम्युनिष्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र प्रभावकारीरुपमा अगाडि बढाइने बताएका छन्।
अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकको आज शुभारम्भ गर्दै संयोजक गौतमले भर्खरै पुनःस्थापित नेकपा (एमाले) मा खुसीसाथ एकताबद्ध हुने अवस्था नरहेकाले एकता अभियान अरू बढी सक्रिय हुनुपर्नेमा जोड दिए। सर्वोच्च अदालतको निर्णयका आधारमा अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ०७५ जेठ ३ गते पूर्वको अवस्थामा पुनःस्थापित भएका छन् ।
प्रतिनिधिसभाको विघटनपछि विभाजन उन्मुख भएका दुवै समूहमा नलागी पार्टीमा पुनः एकता गराउने उद्देश्य राखेर एकता राष्ट्रिय अभियान निर्माण गरिएको उनको भनाइ थियो ।
संयोजक गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेका तथा तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याउन हतार गरेका कारण पार्टी एकतामा समस्या उत्पन्न भई मुलुकमा अस्थिरता सुरु भएकोमा चिन्ता व्यक्त गरे । सो बैठकमा अभियानका गतिविधि, पार्टी एकता, वामपन्थी सरकार पुनर्निर्माण लगायतका विषयबारे छलफल गरिने जनाइएको छ ।































प्रतिक्रिया