नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) लाई ब्युँताइसकेपछि पहिलोपटक मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए । त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाइ छ।
माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पारे । संसदीय दलको बैठकले पार्टी छोडेका २ जना राष्ट्रियसभा सदस्य र ४ जना प्रतिनिधिसभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।
पार्टी परित्याग गरेका सांसदहरुसँग अन्तिम छलफल गर्नका लागि मंगलबार नै नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको ३ सदस्यीय समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि सांसद पुनले बताए।
चैत्र ५ गतेपछि सत्ता समिकरणले मूर्त रुप पाउने समेत उनको जिकिर छ। नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए।































प्रतिक्रिया