हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको बताएका छन्। बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल–खनाल समूहले ललितपुरमा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस्त पार्नका लागि नभई एकताबद्ध बनाउन राष्ट्रिय भेला गरिएको बताएका हुन् । आधा आधा वर्ष सरकार चलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमति प्रधानमन्त्री ओलीले उल्लंघन गरेको उनको आरोप छ।
नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलोपटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता लिएको हो । त्यस्तै बैठकले प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई पनि फिर्ता हुन निर्देनश दिएको छ।
अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा परी छ जना एशियाली महिलासहित आठ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो। सीसीटीभी फुटेजका आधारमा प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । विशेष गरेर एशियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एशियाली मूलका मानिसप्रति घृणायुक्त अपराध बढ्नलाई गम्भिर रुपमा व्याख्या गर्न थालिएको छ ।
चैत ९ गतेदेखि सुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ गरिने भएको छ। पाँच वर्षको अवधिमा गरिने गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ। चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको निकुञ्जले जनाएको छ ।
जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् । सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता कर्णले संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दाहरुलाई संबैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताएका हुन् । यसैबीच नेता कर्णले अहिले नै जसपा नेतृत्वमा सरकार बनाउन भने नहुने बताएका छन् ।































प्रतिक्रिया