राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट समान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरु निर्यात गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले देशमा उद्योग, कलकारखानाहरु खोल्नेतर्फ राज्यले दिर्घकालिन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजिकरणका नाममा कौडीको मूल्यमा बिक्रि गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दै श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाए । कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पुर्याइएको दावी गर्दै थापाले कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्टी राप्रपा भएकोले राप्रपाले अंगिकार गरेका विचारलाई आम नेपालीको घरदैलोसम्म पुर्याएर पार्टीलाई अग्रणी शक्ति बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
स्थापनाको छोटो अवधिमा देशभर संगठन गरेर प्रथम महाधिवेशन गर्न सफल भएकोमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)लाई धन्यवाद दिंदै थापाले नेपाली श्रमिकहरुलाई रोजगारको लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न टुकोनले अहम् भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना समेत दिए । पार्टीको अधिवेशनको मिति नजिकै आइसकेकोले अधिवेशनको तयारी द्रुत बनाउन सक्रिय सदस्यता वितरणलाई तोकिएकै समयमा सम्पन्न गर्न समेत थापाले सबै तहका कार्यकर्ताहरुलाई आग्रह गरे ।
सम्बोधनकै क्रममा पूर्व प्रधानमन्त्री एवं राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले हिन्दुराष्ट्र र राजसंस्था नेपालको लागि अपरिहार्य भएकोले सोको पुर्नस्थापनाको लागि सबै दलहरुबीच छलफल चलाउनुपर्ने बताउँदै संगठित मात्र होइन असंगठित क्षेत्रका श्रमिकहरुलाई समेत समेटेर अगाडि बढ्न टुकोनलाई आग्रह गरेका थिए ।































प्रतिक्रिया