गृह मन्त्रालयले बेरुजु फर्स्योटमा उल्लेखनीय कार्य गर्ने गृह मन्त्रालय र मातहतका निकायका अधिकारीलाई आज पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको छ।
गृह मन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहमन्त्री रामबहादुर थापाले बेरुजु फर्स्योटमा उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल लगायतलाई प्रशंसापत्रसहित सम्मान गरेका थिए। मन्त्रालयले उनीहरूलाई नगद रकमसमेत प्रदान गरेको थियो।
गृह मन्त्रालय र मातहतका निकायको आव २०७५/७६ र आव २०७६/७७ मा कूल दुई अर्ब १६ करोड ५७ लाख बेरुजु रहेकोमा २०७७ असार मसान्तसम्ममा एक अर्ब ६६ करोड ४७ लाख बेरुजु फर्स्योट भएको छ। यो कूल बेरुजुको ७६ दशमलव ८७ प्रतिशत हो। प्राप्त विवरण अनुसार गृह मन्त्रालयले ७६ दशमलव ८७ प्रतिशत बेरुजु फर्स्योट गरेको छ। यस्तै प्रहरी प्रधान कार्यालयले ९१ प्रतिशत, सशस्त्र प्रहरी बल नेपालले ६१ दशमलब ९२ प्रतिशत बेरुजु फर्स्योट गरेको छ।
यस्तै बेरुजु फर्स्योटमा उत्कृष्ट कार्य गर्ने तीन जिल्ला प्रशासन कार्यालयलाई सम्मान गरिएको छ। जस अन्तर्गत नुवाकोट प्रशासनले सबैभन्दा बढी ९९, काठमाडौँले ९४ र काभ्रेपलाञ्चोकले ६१ प्रतिशत बेरुजु फर्स्योट गरेको गृह मन्त्रालयले जनाएको छ।रासस





























प्रतिक्रिया