‘आफ्नै खर्चमा कोरोनाको उपचार गर्नु पर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनु पर्छ’ : कांग्रेस

‘आफ्नै खर्चमा कोरोनाको उपचार गर्नु पर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनु पर्छ’ : कांग्रेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गरेका हुन् । उनले संविधानले ग्यारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए। कोभिड १९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफैं गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए।

मंगलबार कुराकानी गर्दै नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताएका हुन् । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उनले माग गरे।

यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताए । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उनले बताए । त्यसैले कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने बताए । सरकारमा बस्नेहरुले राज्यकोषलाई आफूखुशी खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्न तर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैरजिम्मेवारपूर्ण कदम भएको उनले बताए।

Logo