प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन्।
बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन् । यद्यपी अहिले भयावहको स्थिति नभएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको पनि बताए। पूर्णरुपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नु पर्ने बताए। उनले भने, ‘३ दिनदेखि लक्षणहरु फेरि नकारात्मकतातिर जान खोज्या हो की, यद्यपी स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनु पर्दछ। अहिले स्थिति भयावह छैन। यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ। हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन। एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मुल गर्नुपर्ने । खोप लगाएर निर्मुल हुन सजिलो छैन। पूर्ण रुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ। पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक दुरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने। संक्रमण हुने स्थिति नहोस्।’
प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताए। संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गरे।































प्रतिक्रिया