प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताएका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (एमाले) को संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गतेपछि भएका पार्टीका निर्णयहरु फिर्ता नहुने बताएका हुन्। चैत्र ५ गते र चैत्र ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उनको भनाइ छ । उनले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न नसकिने स्पष्ट पारेको पनि नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए। प्रधानमन्त्री ओलीले नेकपा (एमाले) मा कुनै गुट र समूह नरहेकोले समूहगत रुपमा कसैसँग डिलिङ नगर्ने बताएको पनि प्रमुख सचेतक भट्टराईले बताए।
बैठकले आगामी दिनमा संसदीय दलको बैठक नियमित बस्ने र सांसदहरुको क्षमता अभिवृद्धिमा ध्यान दिने निर्णय गरेको पनि प्रमुख सचेतक भट्टराईले बताए। उनले भने, ‘आजको बैठकले अर्को महत्वपूर्ण निर्णय के गरेको छ भन्दा अब हाम्रो संसदीय दलको बैठक नियमित बस्छ। सांसदहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन्छौँ। सांसदहरुले संसदलाई प्रभावकारी बनाउनका लागि जनताका समस्याहरु संसदमा मुखरित गर्नका लागि र आफ्ना निर्वाचन क्षेत्र, आफ्ना जिल्लाका आवाजलाई संसदमा व्यवस्थित तरिकाले राख्नका लागि हामी तपाईंहरुलाई सहजीकरण गर्छौं भनेर पनि प्रधानमन्त्रीज्यूले आजको बैठकमा भन्नुभएको छ।’
प्रधानमन्त्री ओलीले नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टीकरण नकारात्मक भएकाले कारबाहीको भागिदार रहेको बताएको पनि प्रमुख सचेतक भट्टराईले बताए । ‘पार्टीमा विधान विपरित काम गर्ने र सडकमा बसेर पार्टी अध्यक्षलाई हटाउने । दलको नेता हटाउने सम्मको काम तपाईंहरुले गर्नुभो हामीले त कम्तिमा त्यति त गरेनौँ नि त भन्दै प्रधानमन्त्रीले के भन्नुभयो भने दुई जनाको स्पष्टीकरण आएको छ। त्यो स्पष्टीकरण अत्यन्त नकारात्मक छ। त्यो कारबाहीको भागिदार छ। प्रधानमन्त्रीले भनेको शब्द त्यही नै हो। अरु बाँकी दुईजनाको त्यो कोणबाट नभइकन अत्यन्तै सकारात्मक कोणबाट र त्यो स्पष्टीकरणबाट चाहीँ पार्टीलाई एकढिक्का राख्न मद्दत पुगोस्। त्यस्ता आशयका साथ स्पष्टीकरण आउने अपेक्षा गर्दछु भनेर पनि प्रधानमन्त्रीले भन्नु भएको छ । त्यसकारण दुईवटा आएका स्पष्टीकरणहरु चाहीँ कारबाहीका भागिदार हुन्छन् भनेर उहाँले भन्नुभएको छ। कारबाही कुन प्रकृतिको हुन्छ भन्नेकुरा चाहिँ केन्द्रीय कमिटीको आधिकारिक बैठकले निर्णय गर्छ।’
नेकपा (एमाले) का नेता योगेश भट्टराईले पार्टी कमिटीहरु २०७५ साल जेठ २ गते अघिको पूर्ववत्ः अवस्थामा फर्काउनु पर्ने र त्यसका निम्ति प्रधानमन्त्री ओलीले पहलकदमी लिनुपर्ने धारणा राखेको बताए।
बैठकमा नेकपा (एमाले) का नेता तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटका लागि सांसदहरुसँग फिडब्याक मागेको र आफ्नो क्षेत्रको विकास लागि महत्वपूर्ण रहेको योजनाहरु विधिसम्मत् रुपले मन्त्रालयमा दिन आग्रह गरेका थिए। नेताहरु झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टले पनि आ–आफ्नो धारणा राखेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए।





























प्रतिक्रिया