नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गरेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले अदालतको फागुन २३ गतेको निर्णयलाई संकेत गर्दै आफूलाई प्रतिगमनकारी प्रधानमन्त्री केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको स्पष्ट पारे । तर त्यसबाट आफू नडराउने पनि उनको तर्क छ । उनले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै प्रधानमन्त्री ओलीको सरकारलाई समर्थन गर्ने तर दोष आफूहरुमाथि लाग्ने गरेको समेत तर्क राखे । प्रधानमन्त्री ओली सरकारमा भएका कारण आफूहरुका माग पुरा गराउन उनीसँग कुरा गरेको पनि उनले बताए । उनले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि धारणा व्यक्त गरे । उनले प्रचण्ड र आफूहरुको पीडा फरक रहेको पनि स्पष्ट पारे ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । उनले ओली प्रधानमन्त्री भएकै दिनदेखि नै आफूहरुले विश्वासको मत नदिएको दाबी गरे । त्यसैले प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए कांग्रेसले मत दिन नसक्ने उनको धारणा छ । तर अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउने भन्दा पनि संसदको ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधिसभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको बताए ।































प्रतिक्रिया