बिपी कोइरालाका विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गरिने

बिपी कोइरालाका विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गरिने

केन्द्रबिन्दु
0
Shares

बिपी सङ्ग्राहलय समितिले नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्ने भएको छ । सङ्ग्राहलयले शनिबार पत्रकार सम्मेलन गरी बिपी कोइराला निर्वासनमा रहँदाका महत्वपूर्ण पक्ष, स्थान र कांग्रेसको जन्मस्थल मितिबाट सुरु भई सुन्दरीजल जेल सङ्ग्राहलयमा रुपान्तरण भएसम्मका घटना परिघटनालाई विवेचना एवम् समीक्षा गरेर वृत्तचित्र निर्माण गर्न लागेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा सङ्ग्राहलयका अध्यक्ष परशुराम पोखरेलले बिपी कोइरालाको कुशल र सफल नेतृत्वले नै वर्तमान नेपालको इतिहासको जग खडा भएकाले कोइरालाको विविध पक्षलाई समावेश गरेर वृत्तचित्र निर्माण गर्न लागेको जानकारी दिए । 

‘बिपी कोइरालाको वृत्तचित्र निर्माणसँगै नेपाल–भारत सम्बन्धले थप उचाइ लिने विश्वास हामीले लिएका छौँ’, अध्यक्ष पोखरेलले भने । बागमती प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय काठमाडौँको आर्थिक सहयोगमा निर्माण हुन लागेको वृत्तचित्रको छायाङ्कन वैशाख दोस्रो हप्तादेखि गरिने अध्यक्ष पोखरेलले बताए । 

बिपी कोइरालाले बिएसम्म अध्ययन गरेको बनारस हिन्दू विश्वविद्यालय, बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले पढाई सुरु गरेको हरिशचन्द्र हाइ स्कूल, वि.सं. २०२५ मा सारनाथस्थित बिपी कोइराला भाडामा बसेको घर, बिपी तथा मात्रिकाप्रसाद कोइराला पहिलोपटक जेलजीवन बिताएको वनारस जेल, बिपी कोइराला बनारसको सरकारी स्कूल पढ्न छाड्ने घोषणा गरेको स्थानलाई वृत्तचित्रमा समेटिनेछ । 

यस्तै, वृत्तचित्रमा पटनामा गोलघरको पार्कमा रहेको बिपी कोइरालाको शालिक, जय प्रकाश नारायणको नामबाट बिपी कोइरालाले उद्घाटन गरेको सङ्ग्राहलय, बैंक रोड अफ पटनालाई बिपी कोइरालाको नाममा निर्माण गरिएको सडक, बिहाटा एयरपोर्ट पटनालाई समावेश गरिनेछ । यसैगरी, कलकत्तास्थित नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस वि.सं. २००६ मा एकीकरण भएपछि बनेको नेपाली कांग्रेसको पहिलो बैठक बसेको टाइगर सिनेमा हल, बिपी कोइरालाले कानूनमा विएलसम्मको अध्ययन गर्नुभएको कलकत्ता विश्वविद्यालय, सुवर्णशम्शेरको कलकत्ता पार्क स्ट्रीटमा भएको घर, कलकत्ताको भवानीपुरस्थित खाल्सा हाईस्कुलमा सन् १९४७ जनवरी २५ र २६ मा भएको कांग्रेसको प्रथम महाधिवेशनस्थलसमेत वृत्तचित्रमा समेटिने अध्यक्ष पोखरेलले बताए । 

बिपीको राजनीति जीवनलाई सफल बनाउन मूख्य भूमिका खेल्ने लौहपुरुष गणेशमान सिंह र सुवर्णशम्शेर जबराको भूमिकालाई वृत्तचित्रमा समावेश गरिने सङ्ग्राहलयका केन्द्रीय सदस्य कुलचन्द्र वाग्लेले जानकारी दिए । 

वृत्तचित्र निर्माणका लागि सङ्ग्राहलयले भारतको बनारस, कलकत्ता र पटनाको दुई चरणको भ्रमण सम्पन्न गरिसकेको छ । पहिलो चरणको भ्रमणमा सङ्ग्राहलयका अध्यक्ष पोखरेल, उपाध्यक्ष हेमन्त केशर पण्डित र सदस्य दिनेश अर्याल तथा दोस्रो चरणमा अध्यक्ष पोखरेल र सदस्य कुलचन्द्र वाग्लले भ्रमण गरिसकेका छन् । 

सङ्ग्राहलयका कोषाध्यक्ष एवं पूर्वसभासद् पुरुषोत्तम बस्नेतले बिपी कोइरालासँग जोडिएका ऐतिहासिक ठाँउ जोगाउने मुख्य लक्ष्य वृत्तचित्रको रहेको बताए । ‘बिपीको समग्र व्यक्तित्वलाई झल्काउने दस्तावेज तयार गर्ने सङ्ग्राहलयको उदेश्य हो’, उनले भने । नयाँ निर्माण हुन लागेको वृत्तचित्र चार घण्टाको हुने सङ्ग्राहलय समितिले जनाएको छ । वि.सं. २०१५ को आमनिर्वाचनमा दुई तिहाई बहुमतको प्रधानमन्त्री बनेका बिपी कोइरालाले स्वच्छ छविले नेपालमा १२ वर्ष मात्र काम गर्न पाएका थिए । बाँकी १२ वर्ष स्वदेश तथा विदेशका जेलमा जेलजीवन व्यथित गरेको कोइराला बाँकी जीवन भारतमा निर्वासित जीवन बिताएका थिए । रासस

Logo