परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षी लगायतका संसद पुनर्स्थापनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारका कारण संसद प्रभावकारी नभएको नभई प्रतिपक्षी दल लगायत संसद पुनर्स्थापनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताएका हुन्। सरकार संसदलाई विजनेश दिन तयार रहेको उनको भनाइ छ। संसदलाई सहि ढङ्गले अगाडि लैजानको निम्ति सभामुखको नेतृत्वदायी भूमिका हुनुपर्ने उनले बताए।
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताए। विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसिनरहने उनको भनाइ छ। हतारमा समर्थन छोडेर राजनीतिक अस्थिरतातर्फ आफूहरुले लैजान नचाहेको उनले बताए।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताए। अबको एक हप्ताभित्र सबै विषय टुङ्गिनु पर्ने उनको मत छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने पनि थापाले बताए।
जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले उठाएका मुद्दाहरुको सम्बोधन गराउनु नै अहिले आफूहरुको कार्यभार रहेको बताए।
नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) ले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र प्रमुख प्रतिपक्षी दलको रुपमा सरकार विरुद्द अविश्वासको प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार नभएको अवस्था भएपनि नयाँ सरकार निर्माणमा आफूहरुलाई बाधकको रुपमा हेरिएको उनको भनाइ छ।





























प्रतिक्रिया