प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीका बारेमा तयार पारेको प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई बुझाउने भएको छ ।
समितिको बिहीबार बसेको बैठकले ‘कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन–२०७७’ माथि छलफल गरी पारित गर्दै यही चैत २४ गते मन्त्री त्रिपाठीलाई बुझाउने समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
समिति सभापति घर्तीले बैठकमा आएका सुझावका आधारमा प्रतिवेदनलाई पुनर्लेखन गरेर बुझाउने बताइन् । कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीका सम्बन्धमा समिति सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय अनुगमन उपसमिति गठन गरिएको थियो ।
उपसमिति संयोजक श्रेष्ठले अनुगमनका क्रममा कुनै अस्पतालले पनि कोभिड–१९ को मापदण्ड पूरा नगरेको बताए। प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयन गर्न सरकार लाग्नुपर्ने भन्दै उनले प्रतिवेदन कार्यान्वयन भए नयाँ प्रकृतिको सङ्क्रामक रोग नियन्त्रण गर्न सहज हुने धारणा व्यक्त गरे ।
उनले अनुगमनका क्रममा अझै पनि सबै नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन परेको औँल्याउँदै जनसङ्ख्याका आधारमा चिकित्सकको दरबन्दी राख्नुपर्नेमा जोड दिए । समिति सदस्य हितबहादुर तामाङले सबै अस्पतालमा कोभिड–१९ को छुट्टै कक्ष बनाउनुपर्ने बताए ।
समिति सदस्य रेखाकुमारी झाले सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारले महत्वपूर्ण भूमिका खेलेको भन्दै कोभिड–१९ का सम्बन्धमा उठेका विषयमा गम्भीर हुनुपर्ने जिकिर गरिन् ।
समिति सदस्य मानबहादुर विकले कोभिड–१९ को सङ्क्रमण पुनः बल्झिन थालेकाले सचेत हुनुपर्ने बताए ।































प्रतिक्रिया