हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौँमा मेलम्चीको पानी वितरणको औपचारिक रुपमा उद्घाटन गरेकी छिन् । पानीको उद्घाटनपछि सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताइन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै याङग्री र लार्केको पानी पनि मेलम्चीमै मिसाएर काठमाडौं ल्याइने बताए।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन् । शुक्रबार वामपन्थी नेता स्व.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फाँसीवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताएका हुन् । नेपालका नेवार समुदायलाई राज्यले जे गरेपनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनाहरुलाई विकासको नाममा मिचिदिने प्रवृत्ति बढेको पनि उनको दाबी छ।
यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ। यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेपनि अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको हो। लिखित परीक्षामा भने विभागले वेबसाइटमै ५ सय देखि १ हजारसम्म प्रश्न राखेर त्यहीँबाट लिखित परीक्षामा प्रश्न सोध्ने तयारी गरेको छ।
कोरोना असर र बन्दाबन्दीको प्रभावपछि नेपालमा पर्यटन गतिविधि केहि सहज हुन थालेको छ। कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन्। तथ्याङ्क अनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका हुन्।
म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् । ‘सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटामा बालबालिका परिरहेको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ।





























प्रतिक्रिया