प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने धारणा राखेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद कँडेलले संविधानको धारा ७६ (१) अनुसार बनेको सरकारले पार्टी विभाजनपछि संविधान अनुसार नै ३० दिन भित्र विश्वासको मत लिनुपर्ने तर्क गरेका हुन् । संविधानको धारा १ सयको २ मा पार्टी विभाजन भएको वा सरकारमा संलग्न भएको दलले विश्वासको मत फिर्ता लिएको अवस्थामा ३० दिन भित्र प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दे ‘समर्थन फिर्ता लिनु’ भन्न नमिल्ने दाबी गरे ।
प्रधानमन्त्री ओलीले कुर्सी मोहका कारण आफूसँगैका सहकर्मीलाई पाखा लगाएको र पार्टी एकीकरणलाई असफल पारेको उनले दाबी गरे । २०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले गोर्खाको पालुङटारमा सम्बोधन गर्ने क्रममा आफ्ना सभापतिलाई कांग्रेसको तर्फबाट अन्तिम प्रधानमन्त्री भनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुबाट एमालेको अन्तिम प्रधानमन्त्री पनि केपी ओली नै हुने जिकिर गरे।





























प्रतिक्रिया