हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका छन्। प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नुका सट्टा विरोधका लागि विरोध मात्र गरेको बताए। त्यसैगरी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्रीले कुनै पनि हालतमा सत्ता नछोड्ने र उनको कुर्सी मोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको आरोप लगाएका छन्।
सरकारले आजदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। सरकारी स्वामित्वको नेपाल आयल निगमले असार देखि चैतसम्ममा अर्थात १० महिनाको अवधिमा १३ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिपछि सोमबार जनस्तरबाट यसको विरोध भइरहेको छ। तर, आयल निगमले भने निगम घाटामा गएको भन्दै निरन्तर मूल्यवृद्धि गरिरहेको छ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा यो वर्ष पनि रोक्ने निर्णय गरिएको छ। जसअनुसार बिस्का जात्रा अन्तर्गत भैरवनाथको रथ तान्ने, लिंगो ठड्याउने तथा ढाल्ने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने निर्णय गरिएको हो। यसअघि भक्तपुर प्रशासनले बैकल्पिक उपाय अपनाएर भए पनि बिस्का जात्रा सञ्चालन गर्ने जनाएको थियो।
पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्याधिक बढ्दै जान थालेको छ। गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन्। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार पुर्याउन घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजनासमेत ल्याएका छन्। सोही कारण पनि बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो।
काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ। काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप, खोप अभियान अन्तर्गत मिति चैत्र २५ देखि १८ वर्षदेखि ५९ वर्षसम्मको उमेर समूहअन्तर्गत पर्ने विशेष समूहमा लगाउने निर्णय गरेको छ।





























प्रतिक्रिया