आफूलाई ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको माधव नेपालको आरोप

आफूलाई ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको माधव नेपालको आरोप

केन्द्रबिन्दु
0
Shares

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको माधव नेपालले आरोप लगाएका छन्। मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।

आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको बताए। तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए। अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले बताए। 

नेता नेपालले निर्वाचन आयोगले वैधानिकरुपमा नेकपा (एमाले) केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह पनि गरे। उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए। आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालको भनाइ थियो।

एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्याई छाडने प्रतिवद्धता समेत व्यक्त गरे। नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन् । त्यस क्रममा विभिन्न राजनीतिक दलहरुका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताए।

केपी ओलीले आफूहरुलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए। आफूहरुमाथि कारबाही गर्दा घोडा टेक्न आउँछन् की भन्ने भ्रम केपी ओलीमा रहेको पनि उनले बताए। अहिले प्रतिनिधिसभा व्युँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दै हिंडिरहेको पनि बताए। 

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिलादेखि नै सताउँदै आएको पनि बताए। २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिंडेको स्पष्ट देखिएको पनि उनले बताए। अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरेपनि केपी ओलीको अगाडि नसकेको पनि नेता नेपालले बताए। 

केपी ओलीको प्रवृत्तिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे। ओलीसँग आफूहरुको विचारमा विवाद भएको पनि बताए। आफूहरु सामुहिकता, बहस र विचार मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको पनि नेता नेपालले बताए। 

Logo