नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशका संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताए।
काठमाडौंमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राखेका हुन्। उनले संस्था बलियो बनाउने भन्दा व्यक्ति बलियो बनाउने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढीरहेको र देशका संबैधानिक संस्थाहरुलाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको बताए।
उनले भने, “२०७४ साल फागुन २७ गते प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिईसकेपछि पार्टीको तर्फबाट संसदमा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा म सम्झन्छु–एउटा आशंका छ कि तपाईंको पृष्ठभूमी हेर्दा, तपाईंको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालको संस्थाहरु बलियो बनाएर, पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्न भन्दा पनि व्यक्ति बलियो भयो भने परिणाम आउछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशंका छ। यो भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेको बोलेको म सम्झन्छु । त्यो भनिरहँदा यो नहोस् भन्ने थियो।”
संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिष्पर्धालाई नयाँ उचाईमा लैजान्छ भन्ने अपेक्षा भएपनि विगतमा आशंका गरिए जस्तै ढंगले नेपालको राजनीति अघि बढेको उनले उल्लेख गरे।
संसद, अदालत, संबैधानिक निकायहरु, आयोगहरु, प्रशासन लगायत सबैतर्फ अस्तव्यस्त रहेको भन्दै उनले स्थिर सरकारले दीर्घकालिन सोच राखेर नभई व्यक्ति केन्द्रीत शक्ति एकिकृत गर्ने ढंगबाट अघि बढेको बताए।
विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबरजस्त विभाजन गर्ने प्रयास गरेको दाबी गरे। उनले पछिल्लो समय ओली पक्षमा रहेका समूह विकास प्रेमी र ओलीको विपक्षमा उभिनेहरु विकास विरोधीको कित्तामा देखिएको तर्क गरे। उनले वर्तमान सरकारले नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दाबी गरे।
नेपाली कांग्रेसले आफ्नो कर्तव्य र धर्म निर्वाह गरि अवसरको दुरुपयोग गरेका प्रधानमन्त्री ओलीलाई दण्डित गरेर पदच्युत गर्ने हिम्मत गर्न सक्नु पर्ने बताए। हटाएपछि उत्पन्न अवस्थाको सामना गर्ने क्षमतामा कांग्रेस रहेको भन्दै उनले नेतृत्वलाई त्यसतर्फ अघि बढ्न आग्रह गरे। सरकारका क्रियाकलापहरु संबैधानिक संस्थाहरु भत्काउन उद्त रहेको र संबैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि संस्था भत्काउने प्रयासस्वरुप आएको भन्दै उनले सरकारका त्यस्ता क्रियाकलापविरुद्ध कांग्रेस उत्रनुपर्ने आवश्यकता औंल्याए।
उनले निर्वाचनमा जाँदै गर्दा विगतको इतिहास रटेर नभई तथ्यगत रुपमा एजेण्डासहित जनतामाझ जान पनि सुझाए। उनले निजामति कर्मचारी युनियनलाई आफ्ना समस्या र मागहरुलाई लिपिबद्ध गर्न र अनुकुल ढंगले विधान संशोधन गर्न सुझाव दिए । उनले सबै सेवाग्राहीलाई समान सेवा दिन र राजनितिक दल हेरेर व्यवहार नगर्न पनि सुझाव दिए।





























प्रतिक्रिया