नयाँ वर्षसँगै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि माथि उठाउनु पर्छ: प्रचण्ड

नयाँ वर्षसँगै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि माथि उठाउनु पर्छ: प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुने  विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिंदै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गरेका छन्। 

नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरूबीच एकता कायम भएको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीले षड्यन्त्रमूलक ढङ्गले विभाजन गरेको स्मरण गरे। 

देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सबै पक्षलाई  एकताबद्ध हुन आह्वान गरेका छन्। उनले सन्देशमा भनेका छन् , “अबको हाम्रो समाजवाद कस्तो हुने,  यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ । वर्ग सङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ।”

अध्यक्ष दाहालले कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचना प्रविधिमा आएको विकासलाई उत्पादन र वर्ग सङ्घर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्ने बताए। नयाँ वर्षले नेपाली मौलिकतासहितको समाजवादको लक्ष्यमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले विभिन्न समुदायमा रहेका नेपाली जनसमुदायबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धिको शुभेच्छासहित प्रगतिको कामना गरेका छन्।रासस

Skip This
Skip This
Logo