नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले विजनेस दिन नसक्दा मुलुकमा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था आएको बताएका छन्।
शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्यप्रसाद रेग्मीको प्रथम स्मृतिसभामा बोल्दै नेता सिंहले संसदलाई बिजनेस नदिएर ओली नेतृत्वको सरकारले संसद् निष्क्रिय पार्न खोजेको आरोप लगाए।
उनले भने, ‘सरकार भएर पनि छ कि छैन जस्तो लाग्छ। संसद्लाई विजनेस नदिंदा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था सिर्जना भइसक्यो।’
नेपाली कांग्रेसले अस्थिर राजनैतिक अवस्थाबाट निकास दिन पहल कदमी सुरु गरेको उनले स्पष्ट पारे। ‘ओलीले राजीनामा दिनु पर्छ र कांग्रेसको नेतृत्वमा सरकार चाहिन्छ।’ उनले भने, ‘आफ्नै पार्टीको अन्तर झगडाका कारणले गर्दा संसद भङ्ग गर्ने गरेर ओलीले आफ्नो नैतिकताको स्तर देखाइसकेका छन्। ओलीलाई प्रधानमन्त्री भइरहने वैधानिकता छैन।’
नेता सिहंले ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा परेको समेत बताए। लोकतन्त्र जोगाउनका लागि आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै देशलाई संकट परेको बेला चुप लागेर नबसी सरकारको नेतृत्व गर्न आग्रह गरेको जानकारी समेत दिए।
कांग्रेस कमजोर भएको मौकामा ओलीले देशलाई नै कमजोर बनाएको भन्दै नेता सिंहले भने, ‘देशमा कम्युनिष्टहरु असफल भइसके, यीनीहरुले न संबिधान नै जारी गर्न सकेका हुन्, न त संविधान कार्यान्वयनमा नै सफल हुन सके।’
फरक प्रसङ्गमा नेता सिंहले कांग्रेसमा सक्षम नेतृत्वको आवश्यकता भएको बताए। नेतृत्वका कारणले गर्दा कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाइ छ। नेपाली कांग्रेसको सिद्धान्त, देशको आवश्यकता र परिस्थिती बुझेर कार्य गर्न सक्ने नेतृत्व १४औँ महाधिवेशनबाट चुन्नु पर्ने उनले बताए।
सिंहले प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गर्ने कांग्रेसका पूर्व नेताहरुलाई स्मरण गर्दै अहिलेको नेतृत्वले उनीहरुबाट सिक्नु पर्ने बताए।































प्रतिक्रिया