नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन्।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै ओलीले अपनाएको शैली हिटलरी भएको बताएका हुन्। यस्तै प्रधानमन्त्री बनाउन जसले भर्याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्याईदिएको पनि टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाएको पनि आरोप लगाए। आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताए।
नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोशिस गर्ने भन्दै अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको पनि स्पष्ट पारे। तर प्रतिगमनले फेरि सताएको पनि नेता नेपालले बताए। विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तरपनि प्रतिगमनले नछोडेको अनुभुति भएको पनि उनको भनाइ थियो । तर अन्त्यमा सत्यकै जीत हुने विश्वास आफूहरुको रहेको नेता नेपालले बताए ।
देशलाई आर्थिक क्षेत्रको प्रगतिमा, आर्थिक समृद्धिको दिशामा लैजान र गरिबी, अभाव, बेरोजगारी यी सबै समस्याहरुको समाधान गर्ने कुरामा सुशासनको अपेक्षा आफूहरुले गरेको पनि बताउनुभयो । यस्तै समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि नेता नेपालले बताए। समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरुलाई सुझाव पनि दिए । देशको विभिन्न कालखण्डमा अधिकारका निम्ति भएको राजनीतिक क्रान्तिमा पत्रकारिता जगतले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको पनि बताए।





























प्रतिक्रिया