नयाँ सरकार बनाउन माओवादी केन्द्रले छिट्टै निर्णय लिने

नयाँ सरकार बनाउन माओवादी केन्द्रले छिट्टै निर्णय लिने

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनका विरुद्ध संघर्ष गर्ने लोकतन्त्र पक्षधरहरुको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताए। 

बैठकले देशमा कोभिड–१९ को दोस्रो लहर आएकाले कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन सहजीकरणको काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशित समेत गरेको छ। सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापन प्रति गम्भिर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरुलाई लागू गर्न पनि आव्हान समेत गरेको छ। 

सरकारले संसदको अधिवेशन अस्वभाविक र हठात ढङ्गले अन्त्य गरेकोमा स्थायी कमिटीले भत्र्सना समेत गरेको छ । संसद अधिवेशन अन्त्यलाई सरकारको अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी कदमको अभिव्यक्तिको रुपमा लिएको नेता श्रेष्ठले बताए। 

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ नेता श्रेष्ठले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको पनि स्पष्ट पारे। देशमा चुनाव घोषणा हुने र चुनाव नहुने गरी संविधान र लोकतन्त्रमाथि खतरा पैदा हुने स्थिति नआओस् भन्नका लागि आफूहरुले सुविचारित ढङ्गले कदम चाल्ने पनि बताए। 

केन्द्रीय कार्यालयको तर्फबाट बैठकमा रिर्पोटिङ गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको मुख्य कार्यभार वर्तमान राजनीतिक परिवर्तनको रक्षा गर्नु र देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएको नेता श्रेष्ठले जानकारी दिए। 

स्थायी कमिटीको बैठक बुधबार (भोलि) दिउँसो १ बजे पुनः बस्ने बताइएको छ। बुधबारको बैठकमा पार्टीको विधान संशोधन लगायतका विषयमा छलफल हुने नेता श्रेष्ठले बताए। 

Logo