हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै बैठकले विधान संशोधनसम्बन्धी मस्यौदालाई अन्तिमरूप दिएर केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय समेत गरेको छ।
सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’लाई असंवैधानिक ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वको संवैधानिक इजलासले घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज गरिदिएको हो।
नेपालमा एकै दिन दुई हजार बढी कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो। यसरी कोरोना संक्रमण ह्वात्तै बढ्दै गएपछि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन तथा, जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालन गर्न आग्रह गरेको छ।
चालू आर्थिक वर्षमा सरकारले हालसम्म ६ खर्ब ८७ अर्ब राजस्व संकलन गरेको छ। गत आइतबार अर्थात् बैशाख ५ गते सम्मको तथ्यांक अनुसार सरकारले ६७.९६ प्रतिशत राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको राजस्व संकलनको अवधी ३ महिना भन्दा कम हुँदा लक्ष्य अनुसार संकलन हुनेमा भने सम्भावना भने न्यून देखिएको छ।
संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार बनेको तथ्यांकले देखाएको छ। कोरोना भाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको अमेरिकामा कोभिडको असर कायमै रहँदा मानिसहरू रोजगारीम फर्कनपनि हिच्किचाइरहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको संयुक्तराज्य अमेरिकामा कोभिड–१९ को महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो जसमध्ये आधाभन्दा बढी अर्थात् एक करोड ४० लाख रोजगारी पुनर्स्थापना भइसकेको उल्लेख गरिएको छ।































प्रतिक्रिया