लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते

लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते

केन्द्रबिन्दु
0
Shares

यही वैशाख १९ गतेलाई लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउन प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको हो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएपछि वैशाख ६ गते प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन गरिएको थियो । 

साेही अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम १९ वैशाख आइतबार १ बजे प्रदेश सभाको अधिवेशन तोकेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मुख्यमन्त्रीका विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर, सोही दिन अविश्वासको प्रस्तावमा हस्ताक्षर भएका तीनसहित जसपाका चार सांसद सरकारमा सहभागी भएपछि त्यहाँको सत्ता समीकरणले नयाँ मोड लिएको थियो । 

लुम्बिनी प्रदेशमा ८७ सांसद रहेकोमा माओवादी केन्द्रका दुई सांसद निलम्बनमा परेपछि हाल ८५ सांसद कायम छन् । प्रदेशमा एमालेका ४१, माओवादी केन्द्रका १८, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् ।

Logo