हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
नेपाली कांग्रेस संसदीयदलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्य समितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको सवैंधानिक परिषद्को बैठकमा प्रतिपक्षी दल कांग्रेस सहभागी नहुने भएको छ । यस्तै अर्को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सभामुख र कांग्रेसले बैठकमा सहभागि नजनाउने भएपछि प्रधानन्यायाधीशलाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन्।
नेपालमा कोरोना संक्रमित हुने सांसदको संख्या २८ पुगेको छ। वैशाख २७ गते हुने विशेष अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा २ सय ५ जना सांसदको परीक्षणमा उनीहरूलाई संक्रमण भएको पुष्टि भएको हो। यस्तै नेपालमा शनिबार ८ हजार ४ सय बढी संक्रमित थपिएका छन् भने, निको हुनेको संख्या पनि ३ हजार ३ सयमाथि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले निर्माण गरेको कोभिड खोपलाई आपत्कालीन प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अनुमति दिएको छ। नेपालमा समेत ८ लाख डोज प्रयोग गरिएको यो खोपलाई डब्ल्यूएचओले स्वीकृति दिनु अघि नै लगभग ६ करोड ५० लाख मानिसलाई दिइसकिएको तथ्यांकले देखाएको छ र तर, खोप आपतकालिन प्रयोगका लागि अनुमति पाएसँगै राष्ट्रिय स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिन सहज हुने भएको छ।
नेपालमा कोरोना संक्रमितको तथ्यांक बढ्दै जाँदा मेडिकल सामग्रीको आवश्यकता बढ्दै गएको छ। त्यसमा पनि अक्सिजनको माग त ह्वात्तै बढेको छ। यस्तो अवस्थामा सरकारले आउँदो असार मसान्तसम्ममा नेपाललाई आवश्यक पर्ने अक्सिजनको मात्रा झन्डै ४ अर्ब लिटर खपत हुने अनुमान गरेको छ। असार मसान्तसम्ममा आईसीयू र भेन्टिलेटरका कोरोना संक्रमितलाई मात्र दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको मन्त्रालयले जनाएको छ।





























प्रतिक्रिया