संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन गरिएको मतदानमा १५ सांसद तटस्थ रहे।
उनीहरूले प्रधानमन्त्री ओली र विपक्षी गठबन्धन दुवैलाई मत दिएनन्। को हुन् ती सांसदहरू? चासोपूर्वक हेरिएको छ।
उनीहरू जनता समाजवादी पार्टी (जसपा) को एक अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसद हुन्।
संसदमा ओलीले विश्वासको मत नपाउने परिदृश्यको आधारमा ठाकुर–महतो पक्षले विश्वासको मत र विपक्ष दुवैमा मतदान नगर्ने निर्णय गरेका थिए।
सोमबार मतदान अगाडि सम्बोधन गर्दै अध्यक्ष ठाकुरले जसपाले राखेका सबै मागहरूको सम्बोधन सरकारबाट नभएकाले मत दिन नसकिने बताएका थिए।
तर, सोही पार्टीको अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर १७ जना सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गरे।
एउटै दलको ठाकुर–यादव पक्षबीच उत्पन्न मतभेदका कारण जसपाको मत एकातिर विपक्षी गठबन्धनलाई जाँदा अर्कातिर तटस्थमा रहेको हो।
जसपाको ठाकुर–महतो पक्ष प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन चाहन्थे। तर, पार्टीको बहुमत राष्ट्रिय कार्यकारिणी समिति र संसदीय दलको बहुमत सदस्य यादव पक्षमा रहेको र उक्त पक्षले विपक्षी गठबन्धनसँग सहकार्य गर्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी, मधेस विरोधी र प्रतिगमन गरेको भन्दै विश्वासको मत दिन नसकिने स्पष्ट पारेका थिए। त्यही भएर जसपाको मत विभाजन भएको हो।
संसदमा २३२ सांसद उपस्थित भएकोमा ओलीले ९३ मत मात्रै प्राप्त गरे। जुन बहुमत होइन। विश्वासको मतको विपक्षमा १२४ मत पर्याे।





























प्रतिक्रिया