जसपा दुई खेमामा विभाजित

जसपा दुई खेमामा विभाजित

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव समूहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरु तटस्थ बसेका छन्।

विश्वासको प्रस्तावमाथिको छलफलको क्रममा जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सबै मुद्दा फिर्ता लिईदिन माग गरेका थिए। उनले संविधानमा सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफूले संविधान संशोधनको मागलाई नछोडेको बताए। उनले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्ष वा विपक्षमा नरहेको भन्दै तटस्थ बस्ने संकेत गरेका थिए।

यता अर्का अध्यक्ष उपेन्द्र यादव भने वर्तमान सरकारको कार्यशैलीविरुद्ध कडा ढंगमा प्रस्तुत भएका थिए। उनले मधेस र मधेसी जनता विरोधी प्रधानमन्त्री ओली पछिल्लो समय केही मधेशीलाई फकाउने काममा लागेको टिप्पणी गरे।

मधेस आन्दोलनमा मानिसहरु मारिँदा प्रधानमन्त्रीले दुईचार वटा आँप झरेको टिप्पणी गरेको भन्दै प्रश्न गरे, “त्यो बेला उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) को अभिव्यक्ति के थियो ? दुई चार वटा आँप झरेको हो। अहिले त्यही आँप खुवाउनुहुन्छ मधेशीहरुलाई ?”

एउटै पार्टीका अर्का अध्यक्ष ठाकुर विश्वासको प्रस्तावमा तटस्थ बस्ने धारणा राखेका थिए भने यादवले भने विपक्षमा उभिएको बताएका थिए।

उनले भने, “संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो। जनता सडकमा आए। सर्वोच्चले पुनर्स्थापित गरिदियो। जुन संसदमा विश्वास छैन। कसरी मत दिने?”

Logo