सञ्चारमन्त्रीद्वारा नेता चौलागाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

सञ्चारमन्त्रीद्वारा नेता चौलागाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।

मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ। कोरोना सङ्क्रमणबाट मङ्गलबार राति नेता चौलागाईंको निधन भएको थियो।

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। नेता चौलागाईं विसं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईं निष्ठावान र इमान्दार नेता थिए। उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए।

Logo