हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन्। नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल समूहले तत्काल राजीनामा नदिने निर्णय गरेसँगै दुवै दल नयाँ सरकार गठनको दावी नगर्ने निष्कर्षमा पुगेका हुन्। बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ। तर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग उक्त संख्या नपुग्ने भएको हो।
विहीबार नेपालमा कोरोना भाइरसका ८ हजार ९ सय बढी संक्रमित थपिएका छन् । १९ हजार ४७४ पीसीआर र ७७१ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १४ मृतक थपिएका छन् । कूल संक्रमित संख्या ४ लाख ३१ हजार पुगेको छ । कूल मृत्यु संख्या ४ हजार ४६६ पुगेको छ ।
काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोश्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ । उपत्यकामा खोपको दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन महानगरपालिकाले यस्तो व्यवस्थाको तयारी गरेको हो। महानगरका अनुसार अब १ लाख ५० हजारलाई खोप लगाउने तयारी भइरहेको छ।
चालु आर्थिक वर्षको ९ महिनामा ७ खर्ब २९ अर्ब रुपैयाँभन्दा धेरैको रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि रेमिट्यान्स भने बढ्दो क्रममा छ। केन्द्रिय बैंकको तथ्यांक अनुसार यस अवधिमा ७ खर्ब २९ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको तुलनामा १६.५ प्रतिशतले धेरै हो। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको छ। प्रो लाईसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टोलीले प्रशिक्षण थालेका हुन्। आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि टोलीले प्रशिक्षण थालेको हो।





























प्रतिक्रिया