प्रधानमन्त्री ओलीले आज देशकै ठूलो ‘सिटीहल’को उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले आज देशकै ठूलो ‘सिटीहल’को उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नव निर्मित (सिटीहल) सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्। 

ललितपुरको गोदावरीमा निर्माण भएको देशकै ठूलो ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’को दिउँसो ४ बजे उद्घाटन गर्ने भएका हुन्।

यस अघि बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । तर ओलीको सपथ ग्रहण कार्यक्रम २ः३० बजे हुने भएकाले उद्घाटन कार्यक्रम दिउँसो ४ बजेका लागि सारिएको हो। ३ हजार सिट क्षमताको उक्त सम्मेलन केन्द्र ८१ करोडको लागतमा निर्माण भएको हो।

विसं २०७६ असोज २० गतेदेखि निर्माण सुरु भएको सो केन्द्र कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि कोरोना जोखिमका कारण सम्पन्न हुन सकेको थिएन ।  

अघिल्लो हप्ता सहरी विकास मन्त्री प्रभु शाहले ललितपुरको गोदावरीमा निर्माणाधिन नेपालकै सबै भन्दा ठूलो सम्मेलन हल “सिटीहल”को निरीक्षण गरेका थिए। 

त्यसको एकसातापछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज उद्घाटन हुन लागेको हो । मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारीसहित सिटीहलको निरीक्षणमा गएका हुन्। निरीक्षणको क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अधिकारीहरुले भवन निर्माणको प्रगतिबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए। 

गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाइएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ। ३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याइएको छ।

ध्वनी अवशोषित, भूकम्प प्रतिरोधी सो सिटी हलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्नेछन्। भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाइएको छ। 

उदाउँदो सूर्यको आकृतिमा बनाइएकाले यसलाई गोदावरी सनसाइज नाम दिइएको हो। केसी समानान्तर जेभी काठमाडौंले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैयाँ र भेरिएसनसहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैया रहेको छ। 

आयोजनाभित्र हुने आन्तरिक सडक निर्माण, बगैंचा तथा हरियालीको पूर्वाधार, कुर्सी, हलको साजसज्जा लगायतका कामहरु बाँकी नै छन् । सिटी हल अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ दशमलब ८ किलोमिटर र चक्रपथबाट ९ दशमलब ५ किलोमिटर दुरीमा रहेको छ।

Logo