काठमाडौं ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।
बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताएका हुन् । कुनै पनि मन्त्रालयमा गलत कुराहरु छन् भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उनले बताए ।
यस्तै मन्त्री गुरुङले आफूलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए। कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा सामाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै उनले बिहीबार अपरान्ह मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।





























प्रतिक्रिया