आज राष्ट्रिय सभा उपनिर्वाचन, परिणाम आजै

आज राष्ट्रिय सभा उपनिर्वाचन, परिणाम आजै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज मतदान हुँदै छ । बागमती प्रदेशमा रिक्त सदस्यमा आज चुनाव हुन लागेको हो ।

चुनावमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा अनि नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङ उम्मेदवार छन् ।

मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ । बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन भिड्दै छन् । संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वाग्मती प्रदेशसभा सदस्य ११० जना छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताएका छन् । ‘कुनै प्राविधिक समस्या आएन भने मत परिणाम आजै आउँछ,’ उनले भने ।

Logo