नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली पदमुक्त नभइ नयाँ सरकार गठनका लागि राष्ट्रपतिले अघि बढाएको प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक भएको बताएको छ। कांग्रेसले बिहीबार राति विज्ञप्ती जारी गरेर यो कदमको विरोध गरेको हो। नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ।
कांग्रेसका नेताहरूले नयाँ सरकार गठनका लागि निकै रहस्यमयी ढंगबाट प्रक्रिया अघि बढाइएको भन्दै यसको विरोध गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले २४ घण्टाको पनि समय नदिई राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान हुनु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।
राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भए लगत्तै नेता पौडेलले यस्तो बताएका हुन् । ‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो’, पौडेलले फेसबुकमा लेखेका छन् ।
नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भए पनि त्यो नगरी सरकार गठनको आह्वान गर्नु संविधान फाल्ने षड्यन्त्र भएको उनको भनाइ छ। सँगै पौडेलले सम्पूर्ण राजनीतिक दललाई नेपाली जनताको त्यागबाट प्राप्त संविधान जोगाउन अपील गरेका छन् ।
यता कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्रीले राजीनामा नदिइ वा विश्वासको मत नलिइ संविधानको धारा ७६(५) लागु गर्नु भनेको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भएको बताएका छन् । विहीबार राति सामाजिक संजालमा डा.कोइरालाले लेखेका छन्,‘ संविधानको धारा ७६(३)अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई वा राजीनामा नगरी धारा ७६(५)लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो।’
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री चयन गर्न यति धेरै कम समय ताेक्नु नयाँ सरकार बन्न नदिएर संसद भंग गर्ने सुनियोजित षडयन्त्र रहेको बताएका छन्।
यसैगरि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा संविधान छल्ने र संसदलाई प्रयोजनहीन बनाउने संयुक्त षडयन्त्रअनुसार यो कदम अघि बढाइएको बताउँछन्। उनी भन्छन्, 'प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ।' शर्माको प्रश्न छ, 'राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल `विद्या भण्डारी´बस्नुहुन्छ ?































प्रतिक्रिया