समामुख पनि सघन छलफलमा, आजै आफ्नो धारणा सार्वजनिक गर्ने

समामुख पनि सघन छलफलमा, आजै आफ्नो धारणा सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

विकसित राजनीतिक घटनाक्रमबारे प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा सघन छलफलमा जुटेका छन्।

उनले राष्ट्रपति र प्रधानमन्त्रीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न संकटका विषयमा कानुनविद्, राजनीतिक पार्टीका शीर्ष नेता लगायतसँग छलफल गरिरहेका छन्।

सभामुख पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले पार्ने असरबारे भित्री चुरो कुरा केलाउन कानुनविद्, राजनीतिक पार्टीका शीर्ष नेता लगायतसँग छलफल गरिरहेका स्रोतले जनाएको छ। यसक्रममा उनले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग पनि छलफल गरेका छन्।

सभामुखले आजै आफ्नो धारणा पनि सार्वजनिक गर्ने तयारी गर्न लागेको बुझिएको छ।

‘सभामुखले आफ्नो संस्था (प्रतिनिधिसभा)सँग जोडिएको विषय भएकाले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ,’ स्रोतले केन्द्रबिन्दुसँग भन्यो। सबैसँगको सघन छलफल र परामर्शपछि आजै त्यो धारणा बाहिर आउँछ।’

शुक्रबार संविधानको धारा ७६ उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री पदको दाबी पेस गरेका थिए। 

तर, यसअघि आफूसँग बहुमत नरहेको भन्दै विश्वासको मत नलिईकन एकैचोटि नयाँ सरकार गठनका लागि ‘मार्ग प्रशस्त’ गरेका प्रधानमन्त्री ओलीले पनि देउवाभन्दा अघि गएर आफूसँग १५३ सांसद रहेको दाबी प्रस्तुत गरेपछि राष्ट्रपतिले अन्ततः मध्यराति दुवैका दाबी नपुगेको निर्णय सुनाइन्।

त्यस लगत्तै मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले गरेको सिफारिसअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि अहिले देशको राजनीतिमा तरंग उत्पन्न भएको छ।

संसदमा प्रतिनिधित्व गर्ने दल, नागरिक समाज सबैले आ–आफ्ना धारणासमेत सार्वजनिक गरिरहेका छन्।

Logo