राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै किसिमको उजुरी लाग्दैन: प्रधानमन्त्री

राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै किसिमको उजुरी लाग्दैन: प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन्। 

आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन् । 

राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चावन्दी गरेर मुद्धा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै उनले जतिजनाले मुद्धा राखे पनि त्यसको अर्थ नरहने बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न अरु दलका सांसदहरुको र्किते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गरे।

उनले संसदीय गणितमा फोहरी खेल भएको र सांसदहरु किन्ने र विक्रि हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद विघटन नहोस् भनेर जसपाको र आफ्नो (नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताए।

बैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उनले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताए।

पर्सनल डान्स गर्ने छुट छैन

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जि हस्ताक्षर लिएर, दुषित अभ्यास गरि, दुषित कागज राष्ट्रपति कार्यालयमा बुझाएको टिप्पणी गरे। आफूले मैले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबीप्रति पनि विश्वास नगरेको उनले बताए। उनीहरुले कन्फ्युजन श्रृजना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उनको तर्क थियो।

उनले लोकतान्त्रिक व्यवस्थामा दलिय अनुशासन हुनुपर्ने भन्दै दलिय अनुशासन भन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरे। लोकतन्त्र अनुशासित, मर्यादित र सामुहिक व्यवस्था भएको भन्दै उनले वुद्धि र प्रतिष्ठाको मिसयुज गरेर बुद्धिजीवीहरुले पुर्वाग्रहका साथ संविधानको अपव्याख्या गरि संविधानमाथिको निष्ठामा आँच पुर्याउने काम गरेको टिप्पणी गरे।

कार्टुनप्रति आपत्ती

प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगर्न आग्रह गरेका छन्। लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको र अहिले केही मिडियाले त्यही स्वतन्त्रताको दुरुपयोग गर्ने काम गरेको भन्दै उनले आपत्ती जनाए। उनले एक दैनिक पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्टी जनाउँदै प्रेत भइसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतिकको रुपमा रहेको संस्थालाई राख्ने काम गरिएको बताए। उनले केही मिडियाले सरकारविरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको दाबी गरे।

उनले लोकतन्त्रका विरुद्ध अतिवादी शक्तिबाट निर्देशित हुने, अतिवादी शक्तिको लाचार छायाँ बनेर तीनको पछि पछि लाग्ने काम नगर्न सचेत गराए। लोकतन्त्र आएपछि बैचारिक ढंगले भेदभाव गरिएका घटनाको फेयरिस्त दिँदै उनले वर्तमान सरकार तानाशाही छ, भनी प्रश्न गरे। उनले राज्यकोशको दुरुपयोग गर्ने, मुख मिठ्याउने र जिब्रो चाट्ने काम नगर्न पनि सबैलाई सचेत गराए।

राष्ट्रिय राजनीतिमा प्रदूषित खेल खेलियो

प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित गर्ने खेल भइरहेको बताए। उनले लोकतान्त्रिक प्रणालीका मूल्य मान्यता र प्रक्रियाबाट राजनीतिलाई पथभ्रष्ट बनाउने र अलोकतान्त्रिक प्रक्रियाबाट राजनीतिको छिनोफानो हुनुपर्छ भन्ने अराजकतावादी सोचहरु हावी हुँदै गएको र सरकार त्यसकिसिमका अलोकतान्त्रिक गतिविधिसँग लडिरहेको स्पष्ट पारे।

उनले सरकार संविधानको श्रृजनात्मक प्रयोग गर्दै लोकतन्त्रको सही ढंगले उपयोग गर्ने, जनताका समस्या सम्बोधन गर्ने, सामाजिक सुव्यवस्था र सुशासन कायम गरी विकासको बाटोमा मुलुकलाई अघि बढाउने वर्तमान आवश्यकतामा केन्द्रीत भएको बताए।

कसले गरेको निर्वाचनमा सहभागी हुने ?

प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्नेहरु पनि प्रचण्डपथ अंगिकार गरेर लोकतन्त्र विरोधी खेलमा लागेको टिप्पणी गरे।

लोकतन्त्र सिध्याउन र हिंसाको बाटोबाट सत्ता कब्जा गर्न हिंडेकाहरु त्यो सम्भव नभएपछि शान्ति प्रक्रियामा आएको र अहिले तीनैको सत्ता कब्जा गर्ने रणनीतिलाई आफू प्रजातन्त्र र लोकतन्त्रबादी भन्नेहरुले पनि साथ दिएको टिप्पणी प्रधानमन्त्री ओलीले गरे।

वर्तमान सरकार झण्डै दुईतिहाईको हैसियत प्राप्त गरेर जनताको अभिमतबाट संविधान सम्मत ढंगले बनेको सरकार भएको भन्दै उनले लोकतन्त्र सिध्याउन हिँडेकाहरुले सरकारको विरोध गरेको बताए।

उनले नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा प्रचण्डलाई गुरु मानेर अघि बढेको भन्दै उनले आवेश र उत्तेजनाको राजनीतिक नगर्न सभापति देउवालाई सुझाव दिए। उनले झण्डै दुई तिहाईको सरकारले गरेको निर्वाचनमा भाग नलिए कसले गरेको लिने भनी प्रश्न गरे।

कु भनेको के हो थाहा छ ?

लोकतन्त्रका विरुद्धमा हुँदै आएका अनुचित कुराहरुको विपक्षमा नागरिक समाज पनि बोल्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले नागरिक समाज र वुद्धिजीवीको भूमिका माथि प्रश्न गरे। केही व्यक्तिहरुले आफूले भनेजस्तो नहुँदा संविधान विपरित देख्ने गरेको भन्दै उनले कु भनेको के हो थाहा छ भनी प्रश्न गरे।

Skip This
Skip This
Logo