नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना नेताहरूलाई स्पष्टीकरण सोधेका छन्।
वागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा आधिकारिक उम्मेदवार रामबहादुर थापालाई असहयोग गरेको, पार्टी एकता विरोधी गतिविधि गरेको, विश्वासको मतमा घात गरेको र फ्लोर क्रस गरेर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा हस्ताक्षरसहित समर्थन गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।
नेता विशाल भट्टराईले आइतबार स्पष्टीकरण पत्र नेपालसहितका ११ जना नेताहरूलाई बुझाइ सकिएको केन्द्रविन्दुलाई बताए।
स्पष्टीकरण सोधिएका नेताहरूमा नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन्। उनीहरूलाई शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
तर, नेपाल पक्षकै नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतलाई भने यसपटक स्पष्टीकरण सोधिएको छैन।
ओली निकट नेता भट्टराईले पार्टी विभाजनको पक्षमा नजाने भनिएकाले तीन नेताहरूलाई स्पष्टीकरण नसोधिएको बताए।































प्रतिक्रिया