सरकारले आफ्नो स्वार्थ पुरा गर्न जनतामा आतंक फैलाउने काम गरेको कांग्रेसको आरोप

सरकारले आफ्नो स्वार्थ पुरा गर्न जनतामा आतंक फैलाउने काम गरेको कांग्रेसको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांगेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ। 

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा बसेको पदाधिकारी बैठकले
कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । 

आफ्ना असंबैधानिक कदमलाई बैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सहमहामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोसिसमा सरकार अघि बढेको बताए। उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताए।

महामारीमा जनताको दैनिकी असहज भइरहेका बेला सहयोगी भुमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अबैधानिक बाटोलाई बैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवं भर्त्सना गरेको नेता महतले जानकारी दिए। 

कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रीत हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ। तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले संञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायतमार्फत निरन्तर रुपमा राष्ट्रपति र सरकारको असंबैधानिक कदमविरुद्ध लाग्नुको साथै कानूनी र राजनीतिक लडाईलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ।

केहीदिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधारणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगायतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका थिए।

Logo