काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ।
झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गम्भीररुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको जानकारी दिए। पराजुलीले भने, “सङ्क्रमण नियन्त्रण गर्नै पर्नेछ, आम नागरिकलाई भन्छु एक हप्ता कष्ट सहेरै भए पनि घरमै बसौँ।”
बढ्दो सङ्क्रमण रोक्न काठमाडौँ प्रशासन कार्यालयले सूचना नै जारी गरेरै कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश ०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेका उल्लेख गर्दै उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइसकेको छ।
२१ हजार रुपैयाँ जरिवाना सङ्कलन
निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ७२३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीमध्ये ४५५ गाडी र एक हजार २६८ मोटरसाइकल छन्। सो क्रममा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६१५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने १८२ लाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ।





























प्रतिक्रिया