‘योगेश-गोकर्ण’, न नेपालतिर न ओलीतिर

‘योगेश-गोकर्ण’, न नेपालतिर न ओलीतिर

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रभावशाली युवा नेताहरू मध्येमा गनिने दुई नाम हो,–योगेशकुमार भट्टराई र गोकर्ण विष्ट।

उनीहरू पार्टीका निलम्वित नेता माधवकुमार नेपाल निकट मानिन्छन्। तर, सोमबारदेखि दुवै युवा नेताले नेता नेपाललाई साथ नदिने छाँट देखाएका छन्। नेपालको कदममा उनीहरूको भरथेक हुन छाडेको छ। 

विपक्षी गठबन्धनमा रहेका विभिन्न पार्टीका १४६ जना सांसदले सोमबार सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि माग गर्दै दायर गरेको रिटमा हस्ताक्षर गर्दा दुवै निवर्तमान सांसदले भने गरेनन्। सर्वोच्चमा पनि गएनन्।

नेता नेपाल निकट एक सांसदका अनुसार नेपालसँगै, झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले नेताद्वयलाई पटकपटक आग्रह नगरेका होइनन्। तर, दुवै जना युवा नेता त मानेनन् नै, नेपाल समूहकै अन्य दुई जना सांसद पवित्रा निरौला खरेल र राजबहादुर बुढा पनि मानेनन्।

हुन त पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले २७ वैशाखमा विश्वासको मत संसदमा लिँदा राजीनामा नदिइ अनुपस्थित हुने निर्णय माधव पक्षमा गराउनुको पछाडि पनि यी दुई युवा नेताको भूमिका महत्वपूर्ण थियो।

जबकि त्यस दिन राजीनामा दिनेबारे छलफल भएको थियो। त्यसो गर्दा विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्ने भनिएको थियो।

तर, राजीनामा नदिई संसदमा अनुपस्थित हुने भन्दै निर्णय गरेर ओलीले विश्वासको मत पाएनन् र पदमुक्त भए।

लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि तीन दिनको समयसीमा दिँदा ३१ वैशाखमा पनि राजीनामा दिने नेपाल पक्षका अधिकांश सांसदहरूको तयारी थियो। तर, राजीनामा रोकियो।
राजीनामा रोकिनुको पछि नेता भट्टराई र विष्टको अरुची मुख्य कारण रहेको नेपाल निकट ती सांसदको भनाइ छ। उनीहरू पार्टीलाई एकताबद्ध गराउनु पर्ने पक्षमा छन्।

त्यही भएर नेता भट्टराईले शनिबार यस्तो स्टाटस् लेखेका थिए।

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन। नेकपा एमालेको एकतालाई जोगाउन सकन्छि कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सही गरें की गलत गरें, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।’

अर्का युवा नेता विष्टले बिहीबार पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन्।

तर, पार्टी र पार्टीका सबै जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काइनुपर्नेमा उनको जोड छ।

उनले स्टाटस लेखेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल, एवम् एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।’

यी दुई प्रभावशाली युवा नेता पार्टी एकताकै लागि हाल ‘मध्यभाग’ मा उभिएको देखिएको छ। न माधव नेपालको रहेक कदममा पूरै काँध हाल्ने पक्षमा छन्, न अध्यक्ष केपी ओलीको।  

यस्तो अवस्थामा ओली निकट निवर्तमान सांसद घनश्याम खतिवडा नेताद्वय भट्टराई र विष्ट व्यक्ति भन्दा पनि पार्टी एमाले, चुनाव चिन्ह सूर्य र सिद्धान्तमा जनताको बहुदलीय जनवादको पक्षमा उभिएको बताउँछन्।

‘दुवै नेताका अभिव्यक्तिहरू पार्टी एकताको पक्षमा छन्, विभाजनको पक्षमा छैन र व्यक्ति भन्दा पनि पार्टी एमाले, सूर्य चुनाव चिन्ह र जबज सिद्धान्तको पक्षमा देख्छु’, खतिवडाले भने।

नेकपा एमाले औपचारिकरूपमा विभाजन हुन मात्रै बाँकी छ। नेता नेपाल पक्षले देशभर समानन्तर संगठन निर्माण गरिसकेको छ। 

ओलीले एकपछि अर्को कारवाही गर्दै नेता नेपाल र उनको पक्षमा उभिएकालाई पाखा लगाउन थालेका छन्।

यस्तो अवस्थाबीच नेता वामदेव गौतम एमाले एकता अभियानमा छन्। तर, उनको अभियान निष्प्रभावी देखिएको छ। यसरी युवा नेताद्वय एकताको पक्षमा उभिए पनि उनीहरूको अभियान चाहिँ प्रभावकारी हुनेमा संशय छ।

Skip This
Skip This
Logo