पार्टी एकताका लागि सबै खाले अपमान र पीडा बेहोरेर निरन्तर प्रयत्नशील रहन्छुः प्रधानमन्त्री

पार्टी एकताका लागि सबै खाले अपमान र पीडा बेहोरेर निरन्तर प्रयत्नशील रहन्छुः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको रक्षाका लागि आफ्नो तर्फबाट अथक प्रयास भएको बताएका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता कायम गर्न अन्तिम समयसम्म पनि प्रयत्न गरिएको बताए।

तर, अस्थिरता सिर्जनाका लागि स्वार्थकेन्द्रित गठबन्धन र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दीबाट हटाउने दुराशय पार्टीभित्रै चलेको हुनाले पार्टी एक हुन नसकेको ओलीले बताए।

नेकपामा स्वार्थकेन्द्रित गठबन्धन र अध्यक्षलाई घेराबन्दीबाट हटाउने दुराशय नबोकेको भए यतिबेलासम्म एकता महाधिवेशन सम्पन्न भएर नेतृत्व हस्तान्तरण भइसकेको हुने ओलीको भनाइ छ ।

फागुन २३ को फैसलापछि पनि एकता जोगाउन सकिन्छ कि भनेर आफैंले पहल गर्दा पनि आफ्नो प्रयासलाई मजाकको विषय बनाईएको ओलीको जिकिर छ। इतिहासले यसको उचित हिसाब किताब गर्ने ओलीले बताए।

ओलीले नेकपालाई एकीकृत गर्ने प्रयास असम्भव भएपछि एमालेलाई नै एकीकरणको बिरासत पार्टीका रूपमा एकतावद्ध र गतिशील बनाउने काम गरिएपनि कतिपय नेताहरूमा आफ्ना विभाजनकारी गतिविधिप्रति रत्तिभर गल्तीबोध नदेखिएका कारण एकीकरणको रक्षा र नेतृत्वको पक्षमा उभिएका साथीहरूलाई पञ्छाउने कुरामा मात्र प्रयास केन्द्रित रहेको आरोप लगाए।

ओलीले फेरि पनि पार्टीलाई गुटहरूको संयुक्त मोर्चा र अन्त्यहीन विवादको थलो बनाउने केही नेताहरूका नियतका कारण पार्टी एकतावद्ध बनाउने प्रयास सार्थक हुन नसकेको बताए।

ओलीले फ्लोर क्रस गर्ने÷गराउने, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गरिएको, आफ्नो पार्टी अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्रीलाई हटाउन कहिले संसदमा अनुपस्थित हुने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने जस्ता चरम विकृति प्रकट भएको प्रति असन्तुष्टि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले पुनः पार्टीको एकताको रक्षाका लागि सबै खाले आक्षेप,  अपमान र पीडा बेहोरेर पनि निरन्तर प्रयत्नशील रहने उद्धघोष गरे।

Logo