नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रका एजेन्डा विरोधी शक्तिलाई जनताले छिट्टै परास्त गर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
'गणतन्त्रमार्फत जनताका छोराछोरी देशको अभिभावक बनायौं। तर, आज राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण गणतन्त्र, संघीयता, समावेशीता नै संकटमा परेको छ।' नेता सिंहले भनेका छन्, नेपाली जनता कोरोना महामारीमा रहेका बेला वर्तमान सरकारको प्राथमिकतामा जनताको जीवन रक्षाको विषय परेन।
सन्देशमा उनले भनेका छन्:
आज जेठ १५। नेपाली जनताको लामो संघर्ष र बलीदानीको जगमा गणतन्त्र घोषणा भएको दिन।
गणतन्त्र दिवस मनाइरहँदा आज हामी एकातिर कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छौं, अर्कोतिर गणतन्त्रमार्फत संस्थागत हुँदै गरेको संविधान माथिको प्रहार विरुद्ध संघर्षमा उत्रनु परेको छ।
गणतन्त्रमार्फत जनताका छोराछोरी देशको अभिभावक बनायौं। तर, आज राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण गणतन्त्र, संघीयता, समावेशीता नै संकटमा परेको छ। नेपाली जनता कोरोना महामारीमा रहेका बेला वर्तमान सरकारको प्राथमिकतामा जनताको जीवन रक्षाको विषय परेन।
संविधानको पालक (राष्ट्रपति) र कार्यान्वयनको मूल दायित्व रहने प्रधानमन्त्रीका पछिल्ला असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको छ। हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारी कदमकाविरूद्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएका छौं। निश्चित छ, गणतन्त्र र परिवर्तनका एजेन्डा विरोधी शक्तिलाई नेपाली जनताले छिट्टै परास्त गर्नेछन्।
अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैया अभावमा छट्पटाइ रहेकाहरूलाई मतपत्र थमाउँछु, भन्ने अविवेकी शासकको जति निन्दा गरेपनि कम हुन्छ। यो महामारीको बेलामा हामीलाई जनताको जीवन बचाउन होइन मत माग्न जाऊ भन्नु कुन मानवीयताले दिनसक्छ? आज गणतन्त्र दिवसका दिन हामीले फेरि एकपटक, लामो संघर्षको प्रतिफल संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गरौं। सबैमा गणतन्त्र दिवसको शुभकामना।
कोरोना महामारीबाट बच्न र असंवैधानिक कदमको कडा प्रतिवाद गर्न सबैमा फेरि पनि हार्दिक अपिल गर्दछु। बाचौं र बचाऔं ।
जय नेपाल
प्रकाशमान सिंह,
नेपाली कांग्रेस































प्रतिक्रिया