गणतन्त्र जान लागेकोमा चिन्ता छ: केबी गुरुङ (कांग्रेस नेता)

गणतन्त्र जान लागेकोमा चिन्ता छ: केबी गुरुङ (कांग्रेस नेता)

केन्द्रबिन्दु
0
Shares

ज्येष्ठ संविधानसभा सदस्यको हैसियतले संविधानसभाको अध्यक्ष थिएँ। २०६५ को जेठ १५ गते गणतन्त्र घोषणा गरें। घोषणा गर्दैगर्दा मसहित ६०१ जना सांसदलाई राजपरिवार र तत्कालीन शाही सेना (हालको नेपाली सेना) ले ‘गणतन्त्र घोषणा गर्ने तिमीहरू नै होइनस्’ भन्दै गोली ठोकेर कतै मार्ने त होइन? डर थियो। चाहेको भए मार्थ्याे पनि।

त्यसबेला मैले गिरिजाबाबुलाई भनेको थिएँ, –‘गणतन्त्र घोषणा गर्नु भन्दा अगाडि धेरै राजनीतिक परिस्थिति मिलाउनुपर्छ, मिलाउनुहोस्।’ त्यसबेला उहाँलाई चाहिँ ‘म यो देशको प्रथम राष्ट्रपति बन्दैछु’ भन्ने थियो।

फेरि उहाँ २०६४ को संविधानसभा निर्वाचन अगाडि पार्टीको सभापति र त्यसअघि पटकपटक प्रधानमन्त्री भएको मान्छे राष्ट्रपति नहुने अवस्था थिएन।

यति हुँदाहुँदै उहाँ कांग्रेसलाई भोट माग्न कहीँ जानु भएन। त्यसबेला किन भोट माग्न जानु भएन? भन्दा ‘म त सबै नेपाली जनताको अभिभावक हुने हो। राष्ट्रपति हुने हो। त्यही भएर म भोट माग्न जान मिल्दैन’ भन्नुभयो। र, पार्टी दोस्रो भयो।

एकातिर, वीपी कोइरालाको विचार, सिद्धान्त र आदर्शलाई स्वीकारेर आएका सबै नेताहरूले त गणतन्त्रलाई सहजै स्वीकार्ने अवस्था थिएनन्। त्यही भएर पार्टीको आन्तरिक परिस्थिति मिलाउनु थियो। अर्कोतिर देशको राजनीतिक परिस्थिति मिलाउनु थियो। मिलाउनुहोस् भनें। 

हुन त कांग्रेसले प्रजातन्त्रको मात्रै होइन, २००७ सालमै संविधानसभा निर्वाचनको कुरा गरेको हो। तर, पछि माओवादीले संविधानसभा निर्वाचन आफ्नो राजनीतिक एजेण्डा बनायो। गणतन्त्र भन्याे। अन्ततः देशमा संविधानसभाको निर्वाचन भयाे र संविधान बन्याे संविधानसभाबाट।  यसकारण कांग्रेस संविधानसभाको चाहिँ आवाज ओकल्ने पहिलो पार्टी हो र त्यही संविधानसभाबाट गणतन्त्र घाेषणा गरियाे।

समावेशीता पनि कांग्रेसको एजेण्डा हो। २०१५ सालमै वीपीले समावेशीताको आधारमा मन्त्रिमण्डल गठन गरेका थिए। त्यहाँ महिला, आदिवासी, मधेसीहरू पनि मन्त्री थिए।

पछि २०३६ मा जनमत संग्रह हुँदा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले चलाखीपूर्वक बहुदल पक्षलाई हराए। निर्दललाई जिताए। त्यसबेला मालेले ‘पहेंलो चिन्ह’ मा भोट हाले। यसरी पहेंलो चिन्हमा भोट हालेको मालेकी नेतृ सहाना प्रधानले अब आन्दोलन गरौं भनेर वीपीबाबुलाई भेट गर्नुभयो। त्यसपछि वीपीबाबुले प्रधानजीलाई ‘पहेंलो चिन्हमा भोट हाल्ने अनि प्रजातन्त्रको लागि आन्दोलन गरौं भन्ने? भन्नुभयो।

तर, राजनीतिक परिस्थिति बद्लियो र गणतन्त्र आयो। घोषणा गर्ने सौभाग्य मलाई मिल्यो। गणतन्त्र घोषणा भएको पनि १४ वर्ष बितिसक्यो। गणतन्त्र कार्यान्वयनमा सत्ता सञ्चालन गर्ने शासकहरू इमान्दारी भएनन् कि भन्ने लाग्छ। त्यही भएर मैले घोषणा गरेको गणतन्त्र जान लागेको भन्ने चिन्ता छ। 

(केन्द्रविन्दुकर्मी जङ्ग तामाङसँगको कुराकानीमा आधारित)

Logo