पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ठ हुने काम भइरहेको प्रधानमन्त्रीको दाबी

पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ठ हुने काम भइरहेको प्रधानमन्त्रीको दाबी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन्।

तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताए। उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गरे। ओलीले उनीहरुले मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे।

राजनीतिक दल र तीनका नेताहरु अनुशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको बताए। उनले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलिय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको बताए। उनले पछिल्लो समय नेपाली राजनीतिमा स्याडीस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गरे।

समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधिविरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यसकार्यमा लाग्न आग्रह गरे।  

विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संबैधानिक र कानुनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताए। समृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उनले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, समृद्धि र न्यायसहितको समानताको सुनिश्चितता हुनुपर्ने बताए।

विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्दै उनले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामाजिक परिर्वतनसँगै चेतना वृद्धिमा सहयोग पुर्याएको बताए। त्यसबेलाको आन्दोलनकै असरस्वरुप अहिले महिलाको समान अधिकारको आकांक्षा प्रकट हुने अवस्थामा आएको उनले उल्लेख गरे। उनले महिला हिंसा न्युनीकरणका लागि महिला स्वयं पनि सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

उनले महिला हक अधिकार र समानताको आन्दोलन महिलाको मात्रै हो भनेर नठान्न र पुरुषहरुलाई पनि महिलाप्रति सहयोगी , महिला आन्दोलन, आकांक्षा र प्रयासप्रति सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे। उनले पुरुषहरुले सहयोगी भूमिका निर्वाह नगरेसम्म महिला आन्दोलन सफल गराउन कठिन हुने बताए।

Logo