राष्ट्रियसभा उपनिर्वाचनमा सत्तारुढ दल एमालेलाई धक्का (भिडियो)

राष्ट्रियसभा उपनिर्वाचनमा सत्तारुढ दल एमालेलाई धक्का (भिडियो)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

रिक्त रहेको राष्ट्रियसभा उपनिर्वाचनमा सत्तारुढ दल नेकपा एमालेलाई धक्का लागेको छ। बागमती र लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा सत्तारुढ पार्टी एमालेका आधिकारिक उम्मेदवारले हार बेहोरेका छन्। सोमबार लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भए। उनले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे। निर्वाचन आयोगका अनुसार विजयी भएका पाण्डेले ४ हजार १४० मत प्राप्त गरे। प्रतिद्वन्द्वी खड्काले ३ हजार ६१२ मत प्राप्त गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधिशहरुले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको आरोप लगाएका छन्। अदालतको कामकारवाहीलाई प्रभावित पार्ने काम न्यायमूर्तिहरुबाटै भएको भन्दै प्रधानमन्त्रीले चर्को आलोचना गरेका हुन्। यस्तै प्रधानमन्त्रीले प्रक्रिया पुर्याएरै प्रतिनिधिसभा विघटन गरेकाले कोही पनि अदालतमा गएर केही नहुने टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले  सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै त्यसलाई चिर्न युवा संघलाई निर्देशनसमेत दिएका छन्। 

पर्यटनमन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन्। उनले दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैरलोकतान्त्रिक भएको भन्दै कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोपसमेत लगाएका छन्। यता, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफुहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको टिप्पणी गरेका छन्। 

सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटबाट साना तथा मझौला उद्योगी उत्साहित बनेका छन्। साना तथा मझौला उद्योगलाई दिने सहुलियत कर्जाका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । साथै यसअघि देखि सञ्चालनमा रहेको सहुलियत कर्जाको दायरा फरकाकिलो बनाउँदै व्यवसाय निरन्तरता कर्जा कार्यक्रमलाई पनि निरन्तरता दिएपछि उनीहरू उत्साहित बनेका हन्। यस्तै बजेट नीजि क्षेत्रमैत्री हुँदा कोभिडको मारमा परेका व्यवसायीहरुले राहत महसुस गर्नकासाथै युवा उद्यमीलाई प्रोत्साहन मिलेको उनीहरूको प्रतिक्रिया रहेको छ। 

कोरोनाको दोस्रो लहरसँगै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका अधिकांस जिल्लामा निषेधाज्ञा जारी छ। यसबीचमा संक्रमित तथा आर्थिक हिसाबमा विपन्नहरूको अवस्था भने दैनिकी दयनिय बन्दै गएको छ। राज्यस्तरबाट हुन नसकेका काम पनि थुप्रै छन्। तर, यसबीचमा थुप्रै परोपकारी मनहरूको सक्रियता र सहयोग बढ्दै गएको छ। फ्रन्टलाइनरकै रूपमा निषेधाज्ञाका बीच पनि उनीहरू राहत, उद्धार र सहयोगको निरन्तरता जुटिरहेका छन्। दुःखमा परेकाहरूको घाउमा मल्हम लगाउन उनीहरू क्रियाशिल छन्। आज हामीले तीनै पराेपकारी मनहरूलाई समेटेर रिपोर्ट तयार गरेका छौं।

Logo